हिमाली आवाज । पर्यटन राजधानी पोखरामा ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ । जीवन विज्ञान प्रतिष्ठान नेपालको आयोजनामा हुने स्वजागरण उत्सव यही फाल्गुन १० गते पोखरा रङ्गशालामा हुने भएको हो । सोही क्रममा फाल्गुन ११ गतेदेखि १७ गतेसम्म विराट् चक्र विज्ञान समेत हुने आज पोखरामा अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
योग र ध्यानको पद्धतिबाट स्वस्थ, सदाचार, नैतिकवान् र राष्ट्रिय भावनाले ओतप्रोत जनशक्ति निर्माण गर्दै शिक्षित र युवा जनशक्तिलाई स्वदेश मै आफ्नो भविष्य खोज्न प्रोत्साहन गर्ने उद्देश्यले गण्डकी स्वजागरण उत्सवका साथमा विराट् चक्र विज्ञान आयोजना गरिएको जीवन विज्ञान प्रतिष्ठानका संस्थापक भानु गुरुदेवले बताउनुभयो । उहाका अनुसार कार्यक्रमबाट व्यक्तिमा तनाव, रोग र चिन न्यून भई उच्चतम खुसीको अनुभुति हुुनुको साथै शरीर, मन र चेतना स्वस्थ, सक्रिय र उर्जावान बनाउन मद्धत पुग्नेछ ।
पोखरामा आयोजना गरिएकाले ‘गण्डकी स्वजागरण उत्सव’ र विराट् चक्र विज्ञानले पोखराको पर्यटन, व्यापार र योग तथा ध्यानको प्रवद्र्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने नगर प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सन २०२५ लाई पोखरा भ्रमण वर्षको रूपमा मनाइरहेका बेला जीवन विज्ञानको आयोजनामा हजारौँ मानिसहरूको जमघट अर्थपूर्ण हुने नगर प्रमुख आचार्यले बताउनुभयो ।
फाल्गुन १० गते बिहान ११ः३० बजेदेखि दिउँसो ४ बजेसम्म र ११ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म गण्डकी स्वजागरण उत्सव र विराट् चक्र विज्ञान हुने जीवन विज्ञान प्रतिष्ठानका गंगालाल पोखरेलले बताउनुभयो । उहाँका अनुसार यसअघि गत वर्ष चैत १७ देखी २३ गतेसम्म लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा पाँच हजार तीन सय जनाले सहभागिता जनाएका थिए । पोखरामा हुने कार्यक्रममा ३० हजार भन्दा बढीले सहभागिता जनाउने विश्वास आयोजकको छ ।