टाइगर कप भलिबल:गण्डकी प्रदेश एलिमिनेटरमा प्रवेश

हिमाली आवाज । पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश भलिबल पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटर चरणमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल ग¥यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पा¥यो ।

यो जितसँगै गण्डकी ‘हार्ने समूह’बाट छ अङ्क प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल दुई र एपिएफ एक अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । गण्डकीले अब शुक्रबार ‘जित्ने समूह’बाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग खेल्नेछ ।
यसअघि भएको खेलमा ‘जित्ने समूह’ मा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ ।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बलको एपिएफ र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । द्वितीय टोलीलाई समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७, पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...