लक्ष्मी सुनार
हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स माविले कक्षा नर्सरीदेखि तीन सम्मका अभिभावक भेला तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले पछिल्लो समय बिदेशीने युवाले संख्या बढेको भन्दै गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान पुर्याउनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शाखा अधिकृत कृष्ण भण्डारी, अभिभावक धनराज पुरी, पुस्तक लेखक तथा प्रशिक्षक सुशिला श्रेष्ठलगायतले सम्बोधन गर्नुभयो ।
कार्यक्रममा २०८० को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षा नर्सरीदेखि ११ सम्मका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले बाल गीत, चलचित्रका गीत, स्लो प्रस्तुति, जुम्वा नृत्यलगायतका सांगीतिक र सांस्कृतिक प्रस्तुति र विभिन्न जातजातिका भेषभूषा समेत प्रदर्शन गरेका थिए ।
२०५२ सालमा स्थापित विद्यालयमा हाल करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाई हुँदै आएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशिलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्राचार्य टेकबहादुर गुरुङले स्वागत तथा शिक्षिकाहरु लक्ष्मी सुनार, सिर्जना पोखरेल र शुष्मा गुरुङले सञ्चालन गर्नुभयो ।