हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिता सुरु भएको छ।
‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं संस्करणको सो प्रतियोगिता पोखरा–१ बगरस्थित पुरानो टुंडिखेलमा सञ्चालन भएको हो ।
प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताको उद्घाटन पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्कीले गर्नुभयो ।
उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा प्रवेश गरेको हो । संगमको जीतमा दिलिप कुमार गुरुङले निर्णायक गोल गर्नुभयो । यसैगरी आजको अर्काे खेलमा आयोजक भाइखलकले विष्णु पादुका हेमजालाई ३–० गोल अन्तरले हरायो ।
भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान १÷१ गोल गर्नुभयो भने अर्को गोल हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गर्नुभयो ।
बगर भाइखलका अध्यक्ष इश्वरमान गुरुङले प्रतियोगिताको तीन विधामा (४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूह) कुल ३९ टिमको सहभागिता रहेको जानकारी निदुभयो ।
प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले रु दुई लाख उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइखलकका महासचिव मनकाजी गुरुङले जानकारी दिनुभयो ।
सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद रु १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ६० वर्ष उमेर समूहतर्फको विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।