पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर

हिमाली आवाज ।  प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

पाटा नेपाल नेपालले परिषद् सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरू सँगको सहकार्यमा गर्न लागेको एक्स्पोका सन्दर्भमा पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन परिषद्का तर्फबाट परिषद्का अध्यक्ष तारानाथ पहारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुुभएको हो ।

सरोकारवाला व्यक्ति एवम् निकायको आपसी अनुभवहरूको आदानप्रदानका साथै नेटवर्किङ र व्यापार अवसरहरूको सुविधाको लागि एक्स्पो महत्वपूर्ण प्लेटफर्म हुने सम्झौतापत्रमा उल्लेख छ ।

तीन छिमेकी राष्ट्रहरू नेपाल, भारत र चीनका सार्वजनिक तथा निजी क्षेत्रका पर्यटन व्यवसायी एवम् सरोकारवाला  संस्थाहरूलाई एकै ठाउँमा सहभागी गराउँदै व्यवसायिक साझेदारी लगायतमा छलफल गर्ने उद्देश्यका साथ एक्स्पो गर्न लागिएको सम्झौतापत्रमा भनिएको छ ।

दुई उदीयमान अर्थतन्त्र र पर्यटनका केन्द्र जस्तै रहेका भारत र चीनलाई एकै ठाउँमा ल्याएर नेपालसँगको पर्यटन सम्भाव्यता र व्यवसायिक अवसरहरूलाई प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य हुने भनिएको छ । कार्यक्रमले मुख्यतया पर्यटन र आतिथ्यताको क्षेत्रमा तीन देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गरिएको छ ।

नेपाल रणनीतिक रूपमा विश्वका दुई ठूला अर्थतन्त्रहरूको बीचमा अवस्थित रहेको र यसले यी राष्ट्रहरूको पर्यटन सम्भावनालाई उजागर गर्न पूलको रुपमा काम गर्ने विश्वास लिइएको छ । यी देशहरू बीच द्विपक्षीय व्यापार पहलहरू राम्रोसँग स्थापित भए तापनि यो त्रि–राष्ट्रिय कार्यक्रमले नयाँ र आशाजनक अवसर प्रस्तुत गर्ने भनिएको छ ।

सम्झौतापत्र अनुुसार पाटा नेपाल च्याप्टरले संगठन साझेदार को रूपमा स्वीकृति समाचारपत्रहरू, प्रत्यक्ष इमेलहरू, मार्केटिङ सन्देशहरू र आधिकारिक नाइस वेबसाइटमा प्रमुख रूपमा चित्रित गर्नेछ । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रेस विज्ञप्तिको वितरण मार्फत प्रचार, साथै पाटा च्याप्टर्स नेटवर्क भित्र पोखराको विविध पर्यटनका आयामको प्रदर्शन र प्रवद्र्धन गरिनेछ ।

त्यस्तै परिषद्का तर्फबाट कार्यक्रमको लागि स्थानीय पर्यटन अधिकारीहरू, सरोकारवालाहरू, प्रायोजकहरू, र साझेदारहरूसँग आवश्यक समन्वय गरिनेछ ।

परिषद्का न्यूजलेटरहरू, सामाजिक सञ्जाल र अन्य मिडिया प्लेटफर्महरू मार्फत एक्स्पोका लागि मार्केटिङ र प्रवद्र्धनका काम गरिनेछ । कार्यक्रमका अतिथि र प्रतिनिधिहरूलाई स्वागत गर्न सहयोग लगायतका विभिन्न कामहरू गरिने सम्झौतापत्रमा उल्लेख छ ।

पोखरामा हुन लागेको एक्स्पोले पर्यटन राजधानी पोखरा सहित समग्र नेपालको पर्यटकीय गतिविधि अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने परिषद्का अध्यक्ष पहारीले विश्वास व्यक्त गर्नुुभयो । 

Comments
Loading...