हिमाली आवाज । लमजुङको मस्याङ्दी गाउँपालिका–१ घनपोखराका ६० वर्षीय विजय गुरुङ ३० वर्षअघिसम्म बर्खायाममा भेडाबाख्रा र गाईभैँसीको गोठ लिएर कास्कीको मादी गाउँपालिकामा पर्ने ठूलोलेकमा पुग्ने गर्नुहुन्थ्यो ।
समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको ठूलोलेक कास्की र लमजुङका किसानहरूको चरनखर्क मात्र नभएर परापूर्वकालमा नुनदेखि सुनसम्मको व्यापारका लागि मनाङ आवतजावत गर्ने नाका समेत हो ।
परापूर्वकालमा पशुगोठ र बटुवाहरूको चहलपहल हुने प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठूलोलेक र आसपासका ऐतिहाँसिक ठाउँहरू यतिखेर भने सुनसान छन् ।
“वैदेशिक रोजगारको बढ्दो प्रभावसँगै वर्षायाममा पशु र गोठालाहरुले भरिने ठूलोलेकलगायत खर्कहरू सुनसान मात्र नभएर लेकबेंशी गर्न प्रयोग भएका गोरेटो बाटाहरू झाडीले पुरिएका छन्,” पूर्वशिक्षक समेत रहेका गुरुङले भन्नुभयो, “परापूर्वकालमा गुरुङ समुदायको बसोबास रहेको क्होलासोथार वरपरको भूगोल हामी गुरुङहरूको इतिहास पनि हो ।”
ऐतिहासिक स्थल क्होलासोथारमा एक हजार दुई सय वर्षअघिसम्म गुरुङ समुदायको तीन वटा बस्ती थियो । त्यसबेलाका घर, दरबार, घट्टलगायत भौतिक संरचनाका भग्नावशेष अझै इतिहासको साक्षीका रुपमा रहेका छन् । क्होलासोथार नेपालका आदिवासी जनजाति गुरुङ समुदायको इतिहास, वर्तमान र भविष्यसँग जोडिएको छ ।
क्लोलासोथारलाई केन्द्रित गरेर पुर्खाको पदचाप पछ्याउँदै गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गको खोज, अनुसन्धान, पहिचान गरी प्रर्वद्धन र पूर्वाधार निर्माण थालेको छ ।
सङ्घका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले कास्कीको मादी, लमजुङको क्होलासोथार, मस्याङ्दी, दूधपोखरी, मनाङको चामे र नासो गाउँपालिका जोड्ने पदमार्ग संस्कृति र प्रकृतिको संगम भएको बताउनुभयो ।
“नुनदेखि सुनसम्मको ब्यापार गर्न मनाङ जान–आउन, भेडाबाख्रा र गाईभैंसी चरनका लागि लेकबेंशी गर्न पुर्खाहरुले प्रयोग गरेको बाटोलाई पछ्याउँदै तयार पारिएको पदमार्गको नक्साङ्कनपछि प्रचारप्रसार र पूर्वाधार निर्माणको काम सँगसँगै अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “गुरुङ समुदायको इतिहाससँग जोडिएको प्राकृतिक रुपमा सुन्दर यस क्षेत्रको संस्कृति संरक्षण गर्दै प्रकृतिमा पर्यटकलाई भुलाउने, रोजगारी सिर्जना र देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य रहेको छ ।”
ताङतिङदेखि–करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलोलेक–थुर्जु–दूधपोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँशीशहरसम्मलाई समेटेर गत जेठ महिनामा पहिचान गरिएको पदमार्गको गत साउन महिनामा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङको उपस्थितिमा नक्सा सार्वजनिक र घोषणा गरिएको थियो ।