नेत्ररोग विशेषज्ञ डा.सन्दुक श्रीपती समाज सेवा पुरस्कारबाट पुरस्कृत

हिमाली आवाज । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत पोखरामा आज यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानविय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो ।

तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहनुभएका डा रुइतलाई गुठीको ३२ औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी लगायतले रु दुई लाख २२ हजार दुई सय २२ सहित श्रीपति समाजसेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा डा.रुईतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाजसेवाका लागि अभिप्रेरित गरेको बताउनुभयो ।

यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । कार्कीले पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप नगद २२ हजार दुई सय २२ राशीसहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको हो ।
देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा सन्दुकले गर्नुभएको योगदानलाई कदर गर्दै डा रुईतलाई पुरस्कृत गरेका हौँ।”
पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवी सहितको छ सदस्सीय गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरिएको हो ।
कम लागतको मोतियाविन्दुको विश्व विख्यात चिकित्सा पद्धतिको विकास गरी डा सन्दुकले मानविय सेवाका क्षेत्रमा आँखा उपचारलाई सुलभ र प्रभावकारी बनाउनुभएको छ । डा रुइतले धेरै जनाको मोतियाविन्दुको शल्यक्रिया गरेर दृष्टिविहीनहरुलाई आँखादान दिनुभएको छ ।
यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्यम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

Comments
Loading...