उडानका क्रममा बुद्ध एअरको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई एक/एक लाख जरिवाना

हिमाली आवाज । बुद्ध एअरले विमानको आपतकालीन ढोका खोल्ने दुई जना यात्रुलाई जरिवाना तिराएको छ । दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक÷एक लाख जरिवाना तिराइएको बुद्ध एअरले जनाएको छ ।

कम्पनीका अनुसार जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई एक÷एक लाख सहयोग गरिएको बुद्ध एअरले जनाएको छ ।

बुधवार पोखराबाट काठमाण्डौ उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो विमान उडेको थियो ।

यसैगरी गत असोज २४ गते काठमाण्डौबाट जनकपुरका लागि बिहान ६ बजेर ५ मिनेटमा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको आपतकालीन ढोका खोलेका थिए । त्यसपछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । यात्रुलाई अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा एक लाख क्षतिपूर्ति तिराइएको बुद्ध एअरले जनाएको छ ।

Comments
Loading...