हिमाली आवाज । कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो ।
गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ ।
शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी कारागारमा रहेका कैदीबन्दीका विभिन्न खाले समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सबैजसोमा कोलेस्ट्रोल निकै उच्च देखियो । ‘धेरैले मानसिक समस्या जस्तोः निद्रा नलाग्ने, छटपटी हुने गरेको, कहिल्यै जाँच गर्न नपाएका मधुमेह, प्रेसर निकै उच्च भएकाहरु पनि भेटियो ।’
चिल्लो खाना, व्यायामको कमी, आवश्यक परामर्शको अभाव, कसरत नहुनुका साथै बेलैमा उपचारको व्यवस्था नहुँदा यस्तो अवस्था देखिएको डा अधिकारीले बताउनुभयो। युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ स्वास्थ्य उपचारको निकै आवश्यक रहेका कैदीबन्दीहरुको परीक्षणसहित औषधीसमेत वितरण गरिएको बताउनुहुन्छ ।
”हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर शिविर आयोजना गरेका हौं । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहाँ आइपुगेका हौँ । करिब ३ लाखको औषधीसमेत वितरण गरिएको छ ।” पन्थले भन्नुभयो।
युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले पहिलो पटक यसरी शिविर गरिएको जनाउँदै कारागारमा दन्तसहित विभिन्न रोगका शिविर जरुरी रहेको बताउनुभयो । कैदी बन्दीहरुको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ । उहाँँले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको उल्लेख गर्नुभयो ।