हिमाली आवाज । पोखरामा आयोजना गरिएको २१ औँ संस्करणको ‘माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको आरव सम्राट हाडा र सुनिरा थापाले जित्नुभएको छ ।
कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखी सुरु प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा पुरुष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१, ६–१ मा पराजित गरी च्याम्पियन बन्नुभयो ।
यसअघि सोमबार सम्पन्न सेमिफाइनलको खेलमा नेपालको १ नम्बर वरियताका प्रदिप खडकालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गर्नुभएको थियो । प्रनवले भने निशान श्रेष्ठलाई ६–१, ६–१ को हराउनुभएको थियो ।
यसैगरी महिलातर्फ सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।
खुलातर्फ च्याम्पियन भएका दुबैले समान नगद रु ८० हजार, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेताले जनही नगद रु ४० हजारका साथमा ट्रफी प्राप्त गरेका छन् ।
यसैगरी ३५ वर्ष माथिको एकलतर्फ जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन हुनुभयो । उहाँले रु ६० हजार र उपविजेता सन्तोषले नगद रु ३० हजारका साथमा ट्रफी पुरस्कार पाउनुभयो ।
प्रतियोगितामा ४५ वर्ष माथिको एकल फाइनलमा कमल भण्डारी बिजेता बन्नुभयो । रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गर्दै भण्डारीले रु ४० हजार तथा उपबिजेता रोहितले २० हजारसहित ट्रफि प्राप्त गर्नुभयो ।
५५ वर्ष माथिको फाइनल स्पर्धामा चन्द्र शाही बिजयी हुनुभयो । उहाँले जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्नुभएको थियो । चन्द्रले नगद रु ३० हजार उपबिजेता जीवनले रु १५ हजार पुरस्कार पाउनुभएको प्रतियोगिता निर्देशक कुमार अधिकारीले जानकारी दिनुभयो ।
विजेता खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी,नेपाल टेनिस सङ्घका उपाध्यक्ष बिनोद कायस्थ प्रतियोगिताका संयोजक नविन चालिसे,संघका कोषाध्यक्ष विष्णु बहादुर थापा, सचिव भिष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गर्नुभएको थियो । प्रतियोगितामा देश तथा विदेशबाट समेत गरी एक सय ४० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो।