हिमाली आवाज । पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिनुभयो ।
कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उहाँले बताउनुभयो । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता रहने बताइन्छ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ ।
नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । पोखरासँगै रुपन्देही भैरहवा, दाङको भालुवाङ, दाङकै घोराही र नवरपुरको गैडाकोटमा रहेका शाखामा पनि १६ गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको बताइन्छ ।
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा तिब्रता दिएको प्रमुख संचालन अधिकृत गौतमले बताउनुभयो । निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको छन् ।
होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ ।
बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको होटलले जनाएको छ ।