पत्रकार महासंघ गण्डकीको पदस्थापन, प्रेस स्वतन्त्रताको विपक्षमा काम नगर्ने मुख्यमन्त्रीको प्रतिवद्धता(भिडियो सहित)

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुन नदिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आज सपथ तथा पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्र कमजोर हुन्छ भन्नेमा आफूलाई राम्रो अनुभुति रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्रको अवस्था के हुन्छ भन्ने कुरा राम्ररी अनुभुति गरेका छौँ । साथसाथै प्रेस र प्रेस स्वन्त्रतालाई खोस्न चाहनेहरुको हालत के भयो भनेर इतिहासमा हाम्रै देशमा देखिएको छ ।”

मुख्यमन्त्री पाण्डेले अहिले मानिसहरुले पत्रकारिता र सामाजिक सञ्जालमा आउने र लेखिने कुराकाबीचमा भिन्नता छुट्टाउन नसक्दा सामाजिक सञ्जालमा आउने हरेक कुरालाई मानिसहरुले समाचारका रुपमा ग्रहण गरिहेकाले पत्रकारिता र सञ्जालको फरक स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
“सामाजिक सञ्जालका कारण नकारात्मक भावना फैलिएको छ । त्यसलाई पत्रकारिताले चिर्नु आवश्यक छ । नत्र भने पत्रकारको आफ्नै इज्जत, मान र प्रतिष्ठामा पनि मानिसले नकारात्मक सोच बनाउने अवस्था रहेको छ ।” उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशमा लामो समयदेखी रोकिएको आमसञ्चार विधेयक सरकारले पारित गरेर कानुनु अनुसार प्रेस रजिष्टार सरकारले नियुक्त गरेपनि यो सरकारी निकाय मात्र नभई पत्रकारको हक हितका लागि आवाज उठाउने निकाय समेत रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको सामाचारलाई मूलधारका सञ्चार माध्यमले स्थान नदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,“ जिल्ला र प्रदेशका समाचारलाई केन्द्रले प्राथमिकता दिएको देखिएको छैन । सरकारको पक्षमा लेखिदिनुहोस् भनेर म भन्दिन । पक्ष अथवा विपक्षमा जे भएपनि सरकारका गतिविधि के भइरहेको छ भनेर चासो राखेर लेखिदिनुहोस् भन्ने मेरो आग्रह हो ।”

गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले प्रेस रजिष्टारको कार्यालयले पत्रकारिताको क्षेत्रमा गर्नुपर्ने कामका लागि सबैको सल्लाह र सुझाव लिएर अहिले कार्यविधि बनाउने काम गरिरहेको बताउनुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय सचिव सोनी शर्माले पत्रकार महासङ्घ क्रियाशील पत्रकारहरुको मात्र संस्था बन्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशमा नयाँ पुस्ताको आकर्षण बढाउने काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले पत्रकारको हक हितका साथै क्षमता विकासका लागि ११ वटै जिल्लामा गएर कार्यक्रम गर्ने योजना रहेको सुनाउनुभयो ।
निर्वतमान अध्यक्ष नारायण शर्माले प्रदेश समितिले चूनौतीका बीचमा धेरै काम गरेको बताउनुभयो । अध्यक्षका प्रत्याशी गोविन्द सुवेदीले महासंघले सबै पत्रकारलाई समेटेरे लैजानुपर्ने र पेशागत आचारसंहिता पालनामा जोड दिनुभयो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक कोमलनाथ बरालले प्रदेश समितिमा नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल, उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी निर्वाचित हुनुभएको थियो ।

खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित हुनुभयो । सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आदिवासी जनजाति) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य रहुनभएको छ । अल्पसंख्यक सदस्यमा सुन्दरकुमार थकाली निर्विरोध हुनुभएको थियो ।

Comments
Loading...