हिमाली आवाज । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भेटघाट गरेको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार संघको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलको क्रममा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना,व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल भएको थियो ।
सो अवसरमा बोल्दै प्रतिनिधि मण्डलका प्रमुख चाङले लुजाउ नगर औषधि तथा मदिरा उत्पादनमा अग्रणी रहेको जानकारी दिनुभयो । त्यहाँका उत्पादनहरु नेपालमा निकासी गर्न तथा नेपालमा उत्पादित बस्तुहरु चीनको बजारमा पु¥याउनका निम्ति पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्न लुजाउ तयार रहेको पनि उहाँले बताउनुभयो ।
प्रत्युत्तरमा बोल्दै पोउवा संघका अध्यक्ष गोकर्ण कार्कीले अघिल्लो वर्ष नेपालका प्रधानमन्त्री प्रचण्ड र हालै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन हुँदा गण्डकीबाट भैंसीको मासु तथा अमिलो फलफूल निर्यात गर्न सकिने सम्भावनाबारे जानकारी गराउनुभयो । यी दुबै क्षेत्रमा चिनियाँ लगानी ल्याउन सकिने पनि उहाँको भनाइ थियो ।
पोखराको पर्यटन उद्योगलाई सघाउन पनि उहाँले चिनियाँ टोलीलाई आग्रह गर्नुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको महासचिव शोभा गौतमले जानकारी दिनुभयो ।