हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको विमानले पूर्ण क्षमतामा आज उडान भरेको छ । पोखराबाट पहिलोपटक ‘एयरबस ३१९’ले उडान भरेको हो । पोखराका पर्यटन व्यवसायीले विमानस्थलबाट अन्तर्राष्ट्यि उडान अवतरण सम्भव भएको पुष्टि गर्नका लागि प्रवद्र्धनात्मक उडान गरेका हुन् ।
पोखराबाट प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मी सहित एक सय २६ यात्रु बोकेर ‘एयरबस ३१९’ काठमाडौँ अवतरण गरेको हो ।
यअसघि विहान चीनको छेन्दुबाट एक सय २९ यात्रु बोकेर पोखरा अवतरण गरेको सिचुवान एयरलाइन्सको सो एयरबस पोखराबाट समेत यात्रु बोकेर काठमाडौँ उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक एयरबस पूर्ण क्षमतामा उडान र अतवरण भएको छ ।
प्रवद्र्धनात्मक उडानपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट विमानहरुलाई अन्तर्राष्ट्रिय उडान अवतरणमा कुनै समस्या नरहेको बताउनुभयो ।
विमानस्थलको धावनमार्ग र नजिकको डाँडाका कारणले ठूला आकारका जहाज सञ्चालनमा समस्या हुने दावीलाई प्रवद्र्धनात्मक उडानले गलत सावित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“पोखरामा एयरबस जुनसुकै राम्रोसँग उडान र अतवरण गर्न समस्या छैन भन्ने पुष्टि भएको छ । अब नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारी र निजी क्षेत्रको सामूहिक पहल आवश्यक छ ।” अधिकारीले सरकारले अरबौँ लगानी गरेर पूर्वाधार तयार गरेकाले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले समेत अग्रसरता लिनुपर्ने बताउनुभयो ।
नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस् एशोसिएसन(नाटा) गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र मारमा परेको बताउनुभयो । प्रवद्र्धनात्मक उडानले पोखरामा ठूला आकारका जहाज उडान र अवतरणमा कुनै पनि समस्या नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले छिमेकी देशहरु तथा खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
पहारीले भन्नुभयो,“अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सञ्चालन नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायी समस्यामा छौँ । ठूलो धनराशी खर्च गरेर बनाएको विमानस्थल व्यावसायिक सञ्चालन हुनुपर्दछ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु आवश्यक छ ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मित्र राष्ट्र चीनको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएपनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
यहाँका पर्यटन व्यवसायी तथा निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सुरु गर्न सरकारसँग निरन्तर माग गरिरहेका छन् । विमानस्थलमा कहिलेकाँही चार्टर उडान भएपनि व्यावसायिक उडान हुन सकेको छैन ।