पोखराबाट छिट्टै हिमालय र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै

हिमाली आवाज । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारी र निजी क्षेत्रको सामूहिक पहल आवश्यक हुने बताउनुभएको छ ।

सरकारले अरबौँ लगानी गरेर पूर्वाधार तयार गरेकाले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले समेत अग्रसरता लिनुपर्ने उहाँले बताउनुभयो । विभिन्न देशका ट्राभल्स कम्पनीहरुसँग सम्पर्क गरी धेरै भन्दा धेरै चार्टड उडानका लागि व्यवसायीले समेत काम गर्नुपर्ने उहाँको भनाई छ ।

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस् एशोसिएसन(नाटा) गण्डकीले बुधबार साँझ पोखरामा आयोजना गरेको पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शीघ्र सञ्चालनका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा महानिर्देशक अधिकारीले केही समय लागेपनि नियमित उडान सञ्चालन हुनेमा कुनै दुविधा नरहेको स्पष्ट पार्नुभयो ।

छिमेकी मुलुक चीनको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको पोखरा विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएपनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यहाँका पर्यटन व्यवसायी तथा निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सुरु गर्न सरकारसँग निरन्तर माग गरिरहेका छन् ।
कार्यक्रममा महानिर्देशक अधिकारीले एक÷दुई महिनाभित्रमा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“सरकारी र व्यवसायी मिलेर काम गयौँ भने पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान छिटै सम्भव छ । हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले दुई महिनाभित्रमा यहाँबाट उडान गर्ने गरी उडान तालिका राख्दैछौँ ।”
महानिर्देशक अधिकारीले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा क्यानले पोखरा विमानस्थलको ऋणको सावाँ र किस्ता तिर्नका लागि अन्यत्रको आम्दानी समेत प्रयोग गर्दै आएको बताउनुभयो ।

“पोखरा विमानस्थललाई व्यावसायिक रुपमा सञ्चालन कसरी गर्न सकिन्छ भनेर क्यान समेत चिन्तित रहेको छ । यस विमानस्थलको साँवा र व्याज भुक्तानी सुरु भइसकेको छ । यहाँको ऋणको बोझले अन्य नयाँ कार्यक्रम समेत सुरु गर्न सकिने अवस्था छैन ।” अधिकारीले भन्नुभयो ।
पोखरा पर्यटन परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र मारमा परेको बताउनुभयो । उहाँले विमानस्थल बन्ने खुशीको खबरपछि ठूला होटलमा लगानी गरेका व्यवसायी अहिले समस्यामा परेको बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो,“अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सञ्चालन नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायी समस्यामा छौँ । ठूलो धनराशी खर्च गरेर बनाएको विमानस्थल व्यावसायिक सञ्चालन हुनुपर्दछ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु आवश्यक छ ।”

नाटाका अध्यक्ष किशोर दाहालले विमानस्थलबाट नियमित उडान सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले विमानस्थल पोखराको समृद्धिको आधार बन्नुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...