पोखरा महानगरको छात्रवृत्ति आलोचित,वडाध्यक्ष बास्तोलाले भन्नुभयो,‘यसले महानगरको छवि र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्छ’

हिमाली आवाज । पोखरा महानगरपालिकाले हालै छात्रवृत्तिका लागि प्रकाशित गरेको सूचना आलोचित बनेको छ । महानगरले जनप्रतिनिधि र कर्मचारीहरुका सन्ततिका लागि भनेर चिकित्सा शास्त्रमा एमएविविएस अध्यापनका लागि छात्रवृद्धि प्रदान गर्नका लागि आवेदन माग गरेको थियो ।

महानगर छात्रवृत्ति व्यवस्थापन समितिले वहालवाला जनप्रतिनिधि र कर्मचारीका सन्ततिलाई डाक्टर पढ्न छात्रवृत्ति उपलव्ध गराउने र त्यसका लागि १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिन भनेको थियो । महानगरको सो निर्णयको स्वयम् जनप्रतिनिधिलेनै विरोध गरेका छन् । उनीहरुले शिक्षा र अवसर सबैका लागि समान हुनुपर्ने र जनप्रतिनिधि र कर्मचारीलाई विशेष व्यवस्था गर्न नहुने आवाज उठाएका हुन् ।

पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले छात्रवृत्तिमा डाक्टर पढ्ने सुविधा केवल जनप्रतिनिधि र सरकारी कर्मचारीहरूको छोरा–छोरीको लागि सीमित गर्न नहुने बताउनुभयो । बास्तोलाले महानगरको व्यवस्थाले महानगरको छविमा नकारात्मक प्रभाव परेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“यसले समानताको सिद्धान्तको ठाडो उल्लङ्घन गर्न सक्छ । यस किसिमको नीतिले समाजमा असमानता र अन्यायको भावना सिर्जना गर्दछ । जसले महानगरपालिकाको छवि र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्छ ।”

महानगरको नीति जारी रहने हो भने यसबाट जनतामा अविश्वास र असन्तोष फैलिने र शासकीय निकायसँगको सम्बन्धमा समस्या उत्पन्न गर्न सक्ने तर्फ सचेत गराउँदै उहाँले समाजमा विभाजन वातावरण सिर्जना गर्न रोक्नुपर्ने बताउनुभयो ।

“यस निर्णयलाई पुनः विचार गरी, सबैका लागि समान अवसर सुनिश्चित गर्ने नीति लागू गर्न आवश्यक छ । यसले समाजमा विश्वास र समर्पणको वातावरण सिर्जना गर्नेछ र शिक्षा प्रणालीमा समावेशीपन र न्यायको सिद्धान्तलाई प्रोत्साहन दिनेछ । समान अवसर र न्यायको आधारमा बनाइएका नीतिहरूले केवल सरकारको छवि सुधार गर्छ, तर सबै नागरिकका लागि समृद्धि र समान अवसरको सुनिश्चितता पनि गर्दछ ।” वडाध्यक्ष बास्तोलाले भन्नुभयो ।

Comments
Loading...