हिमाली आवाज ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्कीको नवनिर्वाचित कार्यसमिति, प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यहरु आज सपथ तथा पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले देशमा स्थिरता र सुसाशन स्थापनाका लागि सञ्चार जगत्ले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो,“वर्तमान सरकार बनेको भोलिपल्टदेखीनै अस्थिरताको कुरा भइरहेको छ । सरकार जान्छ भनेर लेखिरहेका छन्, सञ्चार क्षेत्रबाट प्रचार भइरहेको छ । यसबाट सुशासन कायम गर्ने कुरामा समस्या हुन्छ । सञ्चार क्षेत्र व्यवस्थित नभए सरकारलाई सुशासन कायम गराउन समस्या हुन्छ ।”
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले अनलाइन सञ्चार माध्यममा अराजकता बढेकाले नियमनका लागि कानुन निर्माणका गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अनलाइनको मिडियाको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट पारित भएको र अबको सदनमा प्रस्तुत हुने उहाँले बताउनुभयो ।
“डिजिटल प्लेटफर्म सञ्चालन गर्नेहरु मर्यादित बन्नु आवश्यक छ । संस्कार र संस्कृति माथि हमला गर्नु हुँदैन । समाजलाई अमर्यादित बनाउने काम अनलाइन सञ्चार माध्यमबाट गर्नुहुँर्दैन । अनलाइन मिडियाको स्थापना, सञ्चालन र प्रयोगका का लागि नियमन गर्नु आवश्यक छ भनेर सञ्चार मन्त्रालय लागिपरेको छ । ” सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।
विद्युतिय अपराध बढेकाले सोको नियन्त्रणका लागि साइबर सुरक्षा विधेयक र प्रेस काउन्सिलको नियमनकारी भूमिका विस्तारका लागि मिडिया काउन्सिल विधेयक यही हिउँदे अधिवेशनमा पारित गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
सहकारी रकम अपचलनमा जोडिएका जो सुकैलाई पनि कारवाहीका लागि सरकार प्रतिवद्ध रहेको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।
“सर्वदलीय संसदीय छाविन समितिले दिएको प्रतिवेदनका आधारमा दोशीलाई कारवाही हुन्छ । सत्तामा भएका दुई ठूला दलका भएपनि छाडिदैन । अनुसन्धान र अध्ययनले देखाएका सबैलाई कारवाही हुन्छ, कसैलाई पनि छुट हुँदैन ।” मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।
सो अवसरमा सञ्चारमन्त्री गुरुङले गत मङ्सिर २८ गते सम्पन्न पत्रकार महासङ्घको निर्वाचनमा कास्की शाखामा निर्वाचित अध्यक्ष माधव बरालको कार्यसमिति तथा प्रदेश परिषद् र राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएकाहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक पुण्य पौडेल, सदस्यहरु रविन्द्र बास्तोला, गोविन्द पौडेल, निर्वतमान अध्यक्ष एवं गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, माओवादी केन्द्रका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, अध्यक्षका प्रत्याशी राजेन्द्र अधिकारी लगायतले पत्रकारिता क्षेत्रका विभिन्न विषयमा भनाई राख्नुभएको थियो ।
ंगत मंसिर २८ गते सम्पन्न भएको निवार्चनमा अध्यक्षमा माधव बराल, उपाध्यक्ष माधव रेग्मी, उपाध्यक्ष महिला कञ्चन थापा, सचिब भुपाल गुरुङ, सह सचिव मधु अधिकारी, सहसचिव समाबेशी धन बहादुर गुरुङ (सुमन) र कोषाध्यक्ष राजाराम पौडेल निर्वाचित हुनुभएको थियो ।
यसैगरी कार्यसमिति सदस्य अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, ,राजु गिरी, बालकुमारी पौडेल (तारा), सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी, पुष्पराज दाहाल, महिला सदस्यमा कविता घर्तिमगर, दलित सदस्यमा सुरेश सुनार, आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निवाचित हुनुभयो ।
निर्वाचित कार्यसमितिले पहिलो वैठक बसी निवार्चन कमिटि सहित निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन सहित,यसअघि महासंघको सदस्यता प्राप्त गर्नका लागि सिफरिस भएका १८ जना पत्रकारहरुलाई महासंघको सदस्यताका लागि गण्डकी प्रदेश समिति समक्ष पुनः सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।