पोखराको सहिद स्मृति विद्यालयले जित्यो ‘कुलपति रनिङ शिल्ड’फुटबल उपाधि

हिमाली आवाज । गण्डकी प्रदेश सरकारद्धारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो संस्करणको ‘कुलपति रनिङ शिल्ड विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता’को उपाधि पोखरा–१४ मा अवस्थित सहिद स्मृति विद्यालयले जितेको छ ।

यही मङ्सिर २९ गतेदेखी पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा स्टेप वाई स्टेप माविलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सहिद स्मृति विद्यालय च्याम्पियन बन्यो ।

उपाधि विजेता सहिद स्कुलले नगद रु एक लाखका साथमा रनिङ शिल्ड उचालेको छ भने उपविजेता बन्न सफल स्टेप वाईले नगद रु ५० हजार पुरस्कार पायो ।
यस अघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चपूर्ण खेलमा दुवै विद्यालयले समान २–२ गोल गरेका थिए । सहिद स्कुलका लागि सरुन सुनार र केशबहादुर रोका मगरले गोल गरे । स्टेप वाईका निराजन मगर र कुन्ज पौडेलले गोल गरेका थिए ।

निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवैतर्फबाट थप गोल हुन सकेको थिएन ।
पेनाल्टी सुटआउटमा स्टेप बाई स्टेपले २ गोल मात्र गर्न सक्यो भने सहिद स्कुलले छार वटै प्रहारमा गोल गर्दै उपाधि चुम्न सफल भएको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सहिद स्कुलका गोल रक्षक केश बहादुर रोक्का मगर बनेका छन् । उनले ट्रफीसहित नगद रु १५ हजार प्राप्त गरे ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, उपकुलपति प्रा.डा देवकोटा, विश्वविद्यालयका, रजिस्टार डा.कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Comments
Loading...