हिमाली आवाज । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीमा नयाँ नेतृत्व आएको छ । शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिनुभयो ।
अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही (सन्तोष), सचिवमा सुरेन्द्र बराल र कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित हुनुभएको हो ।
उपाध्यक्ष वाहेकका पदाधिकारीका लागि सहमति नभए पछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो । अध्यक्षमा विश्वकल्याण अधिकारीलाई पराजित गर्दे गैरे निर्वाचित हुनुभयो । सचिवमा गणेश कार्कीलाई पराजित गदैँ बराल निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा रुद्र गिरीलाई पराजित गदैँ क्षेत्री निर्वाचित हुनुभएको हो ।

यस्तै सदस्यहरुमा डम्बरबहादुर जिसी, बिक्रम बहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल सर्वसम्वत चयन हुनुभयो ।निर्वतमान अध्यक्ष कार्यसमितिमा स्वतः चयन हुने व्यवस्था अनुसार रमेशकुमार थापासहित ९ सदस्यीस नयाँ समिति बनेको छ । निर्वाचित नयाँ समितिको कार्यकाल दुइ वर्षको हुनेछ ।
इक्यानले संघको अधिवेशनका लागि पुष्पराज भट्टराईलाई प्रतिनिधि खटाएको थियो ।इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, इक्यान उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष इवेन्द्रराज तिवारी र सल्लाहकार महेश पौडेलले भनाई राख्नुभएको थियो ।
साधारण सभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशबहादुर कार्कीको आर्थिक प्रतिवेदन पास गरेको छ । संघमा ५० संस्था आवद्ध छन् ।