हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन सुरु भएको छ ।
भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिद्धारा प्रवद्धित सो आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्नभएपछि व्यापारिक उत्पादन थालेको हो ।
आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ कार्य सकिएर आयोजनाबाट उत्पादित विद्यूत नेपाल विद्युत प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्युत व्यापार विभागले गत कात्तिक २७ गते मध्यान्ह १२ बजेदेखी आयोजनाको व्यावसायिक सञ्चालन मिति(सिओडी) गणना गर्ने गरी निर्णय गरेको छ । सो आयोजनाबाट उत्पादन भएको विजुली माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेसनमा जोडिएको छ ।
अध्यक्ष पोखरेलले स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ र सहयोगमा आयोजना निर्माण सम्पन्न भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“२५ मेगावाट को आयोजना निर्माण गर्नु सामान्य कार्य थिएन । यहाँका सबै पक्षको साथ र सहयोग मिल्यो । आयोजना सञ्चालनसँगै राष्ट्रिय प्रसारणमा विद्युत आपूर्ति वृद्धि भएको छ । कम्पनीको आम्दानी समेत सुरु भएको छ ।”
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका प्रवन्धक इन्जिनियर लेखनाथ पाण्डेले बताउनुभयो ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेवगरमा रहेको पावर हाउसमा खसालेर विद्युत् उत्पादन गरिएको हो ।
पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिएको छ । यो आयोजना नदी जलप्रवाहमा आधारित छ ।
सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखी काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगेपछि निर्धारिण समय भन्दा एक वर्षपछि आयोजना निर्माण सम्पन्न भएको हो ।