हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सात दिनपछि आज राति पोखरा ल्याइएको छ ।
लामिछानेलाई चितवनमा बयान सकेर स्थलमार्ग हुँदै ३ः३० बजे पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा लामिछाने गत कात्तिक २ गते पक्राउ पर्नुभएपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको थियो ।
लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत बचत अपचलन गरेको अभियोग रहेकाले गत मङ्सिर १३ गते काठमाडौँमा बयानका लागि पोखराबाट लगिएको थियो ।
त्यसपछि उहाँलाई काठमाडौँबाट मङ्सिर १८ गते चितवन लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछाने माथि रहेको छ । सभापति लामिछानेलाई यसअघि रुपन्देही लगेर बयान लिइएको थियो ।