हिमाली आवाज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौथरीले केहीदिनभित्रै १० औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताउनुभएको छ ।
पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिहरुसँगको छलफलमा उहाँले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले सार्नु परेको बताउनुभयो ।उहाँले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिनुभयो ।
“खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मङ्सिरमा राष्ट्रिय खेलकुद हुन सकेन । अब फागुन अन्तिम साताको टार्जेट राखेका छौँ । पर्सी बैठक बसेर मिति घोषणा गछौँ ।” मन्त्री चौथरीले भन्नुभयो ।
खेलकुदमन्त्री चौधरीले पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नेपालमा सन् २०२७ हुने महिला अण्डर १९ विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टोलीले सन २०२७ मा हुने १९ वर्षमूनिको महिला विश्वकपका लागि केही दिनअघि पोखराको क्रिकेट मैदान निरीक्षण गरेको हो । आइसिसीले खेल पूर्वाधार निर्माण भएको खण्डमा यहाँ खेलाउन सम्भव हुने जनाएको थियो ।
“विश्वकप क्रिकेट नेपालमा हुने बारेमा मलाई यसअघि जानकारी दिएन । तपाईहरुबाट जानकारी पाएपछि यहाँ खेल सञ्चालका पूर्वाधार निर्माणका लागि मन्त्रालयले अग्रसरता लिएका छ । ढुक्क हुनुहोस् विश्वकप क्रिक्रेटका खेल यहाँ हुन्छ ।” मन्त्री चौधरीले भन्नुभयो ।
उहाँले पोखरा खेलकुदका हिसावले धेरै सम्भावना रहेको र खेल पूर्वाधार समेत अन्यत्र भन्दा राम्रो रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव हुने उल्लेख गर्नुभयो ।