हिमाली आवाज । नेपालमा विद्युतीय गाडी आयात गरी बजार बिस्तार गरिरहेको सिजी मोटर्सको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता टिटी ग्लोबलले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीलाई आज विद्युतिय सवारी चार्ज गर्ने फास्ट चार्जर हस्तान्तरण गरेको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीलाई सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सो सामग्री प्रदान गर्नुभयो ।
पृथ्वीराजमार्ग कम्पनीको कार्यालय परिसर फिर्केमा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ । सो मार्फत विद्युतिय सवारी ३० मिनेट भित्रमा फुल चार्ज हुने भएकाले चार्जिङ स्टेसन विस्तार भएपछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ ।
चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले बताए । उहाँले बिक्री पछिको सेवा प्राथमिकतामा रहेको बताउनुभयो ।
सिजी मोटर्सले देशभर २ सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप २ सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिनुभयो ।
टिटि ग्लोबलले केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्री वितरण गर्दै आइरहेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताउनुभयो ।