हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले निर्माण सामग्रीमा भएको मृल्यबृद्धि खारेज गर्न माग गरेका छ ।
संघका अध्यक्ष लिलकाजी गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघका प्रदेश निर्माण सामग्रीमा भएको मृल्यबृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको हो । साथै संघले अहिलेको मूल्यवृद्धि खारेज नभए निर्माण कार्य ठप्प पारी ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
सिमेण्ट लगायतका निर्माण सामाग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत एक महिनाको अवधिमानै पटक पटक गरी सिमेण्टमा प्रति बोरा एक सय भन्दा बढी मूल्यवृद्धि गरिएको संघले जनाएको छ ।
“निर्माण कार्य हुने अहिलेकै सिजनमा सिमित सिमेण्ट उद्योगीहरुले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको यस संघको ठहर छ। खुल्ला अर्थतन्त्रको निति विपरित सिमेण्टमा गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको यस संघको ठम्याई रहेको छ ।” विज्ञप्तिमा भनिएको छ ।
विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च वढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरुलाई नै आर्थिक बोझ थपिएको, निर्माण व्यवसायीहरुको अरवौ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्ट लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि अविलम्व खारेज गरी आम उपभोक्तालाई राहत दिन संघले नेपाल सरकार लगायत सम्बन्धित सवैमा माग गरेको छ ।