अन्तर्राष्ट्रिय पर्वतीय दिवस :पोखरामा मंसिर अन्तिमसाता पर्वतीय महोत्सव

हिमाली आवाज । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा आगामी मङ्सिर २३ देखी २७ गतेसम्म नवौँ संस्करणको पर्वतीय महोत्सवको तयारी गरिएको छ ।

नेपाल पर्वतारोहण सङ्घ र अन्तर्राष्ट्रिय पर्वतीय सङग्रहालय पोखराले पोखरा–१७ स्थित पर्वतीय सङ्ग्रहालय परिसरमा संयुक्त रुपमा महोत्सव गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पर्वतीय पर्यटनमा विद्यमान समस्या पहिल्याएर समाधानका उपाय खोज्दै सम्भावनाहरुलाई मानव हितमा उपयोग गर्न महोत्सवले योगदान गर्ने अपेक्षा गरिएको छ ।

पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, सङ्ग्रहालय जस्ता विषयमा रुची राख्नेहरुका बीचमा पर्वतारोहण पर्यटनका सम्वन्धमा जनमानसमा चेतना अभिवृद्धिका लागि महोत्सव फलदायी हुने नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत जिनेस सिन्दुराकारले बताउनुभयो ।

उहाँका अनुसार महोत्सव अवधिमा संग्रहालयको सभाहलमा दैनिक अन्तक्रिया हुनेछन् । त्यसैगरी सङग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि हुने बताइन्छ ।

प्रमुख कार्यकारी अधिकृत सिन्दुराकारले भन्नुभयो,“बढ्दो औद्योगिकीकरणका कारण बढेको विश्व तापमान, अनियन्त्रित वनफडानी, पर्वतीय वातावरणमा भएको असामान्य परिवर्तन जस्ता विषयवस्तुले पर्वतीय क्षेत्रमा नकारात्मक असर पारेको छ । यस प्रकारको असरले पर्वतारोहण पर्यटनलाई र अन्तमा समग्र अर्थतन्त्रलाई समेत प्रभावित पार्ने भएकाले पर्वतारोहण पर्यटनका सम्बन्धमा जनमानसमा चेतना अभिवृद्वि गरी पर्वतीय वातावरण संरक्षणमा जोड दिन महोत्सव फलदायी हुने विश्वास लिएका छौँ ।”

महोत्सवको पहिलो दिन मङ्सिर २३ गते दिगो भविष्यका लागि हिमाल : नवीनता, अनुकूलन, युवा र दीगो भविष्यका शीर्षकमा अन्तक्रिया हुनेछ ।

दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरुले आफ्नो अभिमत राख्नुहुने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानले बताउनुभयो । यसैगरी तेस्रो दिनमा हिमाली क्षेत्रमा शौचालयको महत्वका बारेमा अन्तरक्रिया हुनेछ ।

महोत्सवको चौथो दिन पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे उनीहरुका अनुभव राखिने र अन्तिम दिनमा अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरुबारे विमर्श हुने कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

पर्वतीय पर्यटन, पर्वतीय वातावरण सरंक्षण र यसले समाजमा पार्ने प्रभावसम्बन्धी जनचेतना बढाउने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् २००३ देखि डिसेम्बर ११ लाई पर्वतीय दिवसका रुपमा मनाउँदै आएको छ ।

महोत्सवले पर्वतीय क्षेत्रमा बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्र्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्न योगदान गर्ने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहनुभएका पर्वतारोहण सङ्घका सल्लाहाकार गणेश गुरुङले बताउनुभयो ।

Comments
Loading...