आइसिसीका प्रतिनिधिद्धारा महिला विश्वकपका लागि पोखरा क्रिकेट मैदान निरीक्षण

हिमाली आवाज । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधीहरुले पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानको मंगलबार निरीक्षण गरेका छन् ।
आइसिसीको टोलीले सन २०२७ मा हुने १९ वर्षमूनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्द सहित पोखरा आएको टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलपमेन्ट म्यानेजर मोहमद इमान्यूल इस्लाम हुनुहुन्छ ।

आइसिसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालनका लागि रहे पनि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिवद्धता खोजेको गण्डकी प्रादेशिक क्रिकेट सङघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पोखरा महिला विश्वकप क्रिकेटका लागि योग्य रहेपनि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा उहाँहरुको जोड रहेको छ । खेल पूर्वाधार निर्माण गर्न सकेमा पोखरामा विश्वकप सम्भव हुन्छ भन्नुभएको छ ।”

सो टोलीले आजनै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा संग भेट गरेका छन् । भेटमा मन्त्री थापाले प्रदेश सरकार विश्वकपको खेल पोखरामा गर्न आतुर रहेको जनाउँदै सरकारकोतर्फ बाट सहयोग गर्ने बताउनुभएको थियो ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिवद्धता जनाउनुभयो । प्रमुख आचार्यले आइसिसीका प्रतिनिधिलाई विश्वकपका लागि के–के पूर्वाधारको आवश्यकता पर्ने हो त्यस बारेमा जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

यसैगरी नेपाल प्रिमियर लिग (एनपिएल)को टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट सङ्घलाई डकआउट (खेलाडी बस्ने ठाउँ) हस्तान्तरण गरेको छ । पोखरा क्रिकेट मैदानलाई घरेलु मैदानको रुपमा लिएको एभेन्जर्सले सो डकआउट हस्तान्तरण गरेको हा ।

Comments
Loading...