नेकपा(माओवादी केन्द्र) कास्की संयोजकको जिम्मेवारी लामिछानेलाई

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्की जिल्लाको संयोजकमा विश्वप्रकाश लामिछानेले जिम्मेवारी पाउनुभएको छ ।
माओवादी केन्द्र गण्डकी प्रदेश कार्यालयको बैठकले कास्की जिल्लाको रिक्त संयोजक पदमा लामिछानेलाई चयन गरेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।

पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज दीननाथ शर्माको प्रमुख आतिथ्यतामा प्रदेश पदाधिकारी र ११ वटै जिल्लाका इन्चार्ज सहितको प्रदेश कार्यालयको बैठक बसेको हो । जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएका लामिछानेले विसं २०३८ मा विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो ।

उहाँ विसं २०४० मा तत्कालीन नेकपा(मोटो मसाल)को कास्की जिल्ला सदस्य बन्नुभयो । पत्रकारिता र मानवअधिकारको क्षेत्रमा समेत क्रियाशील लामिछाने विसं २०६३ मा पोखरा उपत्यका नगरविकास समितिको अध्यक्ष नियुक्त हुनुभएको थियो ।

यसैगरी विसं २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा उहाँलाई सरकारले फेवाताल उच्चस्तरीय आयोगको अध्यक्षमा नियुक्त गरेको थियो । उहाँ हाल नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेश सचिवालय सदस्य समेत हुनुहुन्छ ।

संयोजक लामिछानेले पार्टीलाई एकढिक्का बनाएर जिल्लामा पार्टी संगठन विस्तारका लागि काम गर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि अबको मुख्य कार्यभार समाजवादी क्रान्ति रहेकाले सोही लक्ष्य प्राप्तिका लागि लागिपर्ने जनाउनुभयो ।

यसैगरी माओवादीले गण्डकी प्रदेशका सबै स्थानीय तहहरुमा पार्टी केन्द्रको निर्णयानुसार यही मङ्सिर महिनाभित्रमा सम्मेलन सम्पन्न गर्ने र सबै पालिकाका केन्द्रमा खबरदारी सभा गर्ने निर्णय समेत गरेको कास्की जिल्ला इन्चार्ज रामजी प्रसाद बराल(जीवन)ले जानकारी दिनुभयो ।

Comments
Loading...