हिमाली आवाज । प्रतिजैविक प्रतिरोध(एण्टि माइक्रोबियल रेजिस्टेन्स) मानव, पशु र वातावरण स्वास्थ्यका लागि प्रमुख चूनौतीका रुपमा रहेकाले सचेतना वृद्धिका कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखराले आज आयोजना गरेको प्रतिजैविक प्रतिरोध सम्बन्धी अभिमूखीकरण एवं अन्तरक्रियामा वक्ताहरुले मानिस र पशुपन्क्षीमा एण्टिमाइक्रोवियल तथा एण्टिबायोटिकको अनुचित प्रयोगबाट जनस्वास्थ्यमा समस्या देखिएको उल्लेख गरेका छन् ।
प्रतिजैविक प्रतिरोध समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्स लगायतका एन्टिमाइक्रोबियल औषधीहरुको प्रभावकारिता कम हुँदै गएको बताइन्छ ।
मानिस तथा पशुपक्षीलाई लाग्ने सरुवा रोगहरुका जीवाणुविरुद्ध प्रयोग हुने औषधीहरुको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरुको उपचारमा बाधा उत्पन्न भएको बताइन्छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा जगदिश पाण्डेले औषधी उत्पादक, वितरक, प्रयोगकर्ताहरु यसको प्रयोगका बारेमा सचेत र नैतिकवान् बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“भोलीका दिनमा आउन सक्ने जोखिम र स्वास्थ्य समस्याका बारेमा अहिलेनै सचेत बन्नु आवश्यक छ । एण्टिबाइक्रोबियल र एण्टिबायोटिक औषधीहरुको समुचित प्रयोगबारेमा व्यापक जनचेतना बढाउनु आवश्यक छ । ” प्रयोगशालामा रोगको उकिन निदान गरी सोही अनुसार औषधी सम्बन्धित स्वास्थ्यकर्मीको सिफारिसमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल ल्याब टेक्नोलिष्ट उपप्रमुख डा सञ्जोग तिमिल्सनाले रोगको यकिन पहिचा नगरी अनुमानको भरमा गलत औषधीको प्रयोग बढेको बताउनुभयो । उहाँले यसले गर्दा लामो समय रोग निको नहुने र अस्पताल बस्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
“प्रतिजैविक प्रतिरोधको समस्या अहिले मानव स्वास्थ्यका लागि प्रमुख चूनौती बनिरहेको छ । यसबाट मानिसको स्वास्थ्यमा असर पुगेको छ र बिरामीको अस्पतालको बसाई बढिरहेको छ । एण्टिबायोटिकको पटक पटक र जथाभावी प्रयोगलाई रोक्न स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार मात्र औषधीहरुको तोकिएको मात्रा र अवधिसम्म प्रयोग गर्नुपर्दछ । ” तिमिल्सिनाले भन्नुभयो ।
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले सरकारले प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना बनाएर प्रतिजैविक प्रतिरोधमुक्त नेपालको लक्ष्य राखेको बताउनुभयो ।
उहाँले एण्टिबायोटिकको सकेसम्म कम प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । “पछिल्लो समय नियमन कमजोर रहेको छ । प्रदेश सरकारलाई अनुगमन अधिकार छैन । त्यसैले ठूलादेखी साना व्यवसायीसम्म अनुगमन बढाउनु पर्दछ ।” श्रेष्ठले भन्नुभयो ।
पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा किरण पाण्डेले कृषक, प्राविधिक, व्यवसायी तथा मेडिकल विक्री प्रतिनिधि सबैले एण्टिबायोटिकको प्रयोगलाई न्यूनीकरणमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले नियमनलाई प्रभावकारी बनाउनुपर्ने खाँचो औल्याउनुभयो ।
पशुपन्क्षी औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष गोपिनाथ बरालले दर्ता नगरीकन भेटेरिनरी औषधी पसल सञ्चालन भइरहेको र जानकारी नपाएका व्यक्तिहरुले समेत औषधी बिक्री गर्ने गरेको बताउनुभयो ।
संयुक्त राष्टसङ्घीय खाद्य तथा कृषि संगठनका डा नविन पौडेलले अधिक एण्टिबायोटिकको प्रयोगबाट निम्तने स्वास्थ्य समस्यालाई कम गर्नका लागि जनचेतना अभिवृद्धिका लागि विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउने गरिएको जानकारी दिनुभयो ।
प्रतिजैविक प्रतिरोधका बारेमा विश्वव्यापी जागरूकता बढाउन र एक स्वास्थ्य अवधारणाको महत्तव बुझाउन हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म सप्ताह मनाउँदै आइएको कार्यक्रम संयोजक डा सचिन रेग्मीले बताउनुभयो ।