हिमाली आवाज । पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि निःशुल्क ईन्टरनेटको व्यवस्था मिलाएपछि विद्यार्थीमा खुशी छाएको हो । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा ईन्टरनेटको सुविधा उपलब्ध गराएको हो ।
ईन्टरनेटको सुविधा प्राप्त भएपछि पढाईमा सहज भएको विद्यार्थी प्रज्वल बास्तोलाले बताउनुभयो । “अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ भने विद्यार्थीलाई निःशुल्क ईन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुगेको छ। हामी उत्साहित भएका छौँ ।” बास्तोलाले भन्नुभयो ।
देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह मावि जस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टेरनेटको व्यवस्था वडाले गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो ।
“सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं । विद्यार्थीलाई सुविधा दिएपछि उनीहरुको अध्ययनमा अझै सहयोग पुगेको छ । ”वडाध्यक्ष वास्तोलाले हिमाली आवाजसँग भन्नुभयो ।
वडाले नीति तथा कार्यक्रममै भौतिक पुर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो । वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरुलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ । शिक्षण र प्रविधिलाई जोड दिंदै वडाले विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ ।