मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो, ल्याउन समस्या

हिमाली आवाज ।  कास्कीको माछापुच्छ«े गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका गाइड लालबहादुर तामाङको शव फेला परेको छ ।

मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र  सहयोगीका रुपमा गएका चार नेपाली कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउसो लडेर सम्पर्क विहीन हुनुभएको थियो ।

तामाङको खोजीका लागि गएको उद्धार टोलीले मंगलबार मर्दीको पाँच हजार तीन सय मिटर उचाईमा तामाङको शव फेला पारेर राति पुनः मर्दी आधार शिविर फर्किएको माछापुच्छ«े गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उद्दार टोलीमा लाक्पा छिरिङ शेर्पा,छिरिङ लामा भोटे  र पासाङ शेर्पा  रहनुभएको थियो । अन्य टोली भने मर्दी हाइक्याम्पमा रहेको छ ।

“भीरको खोँचमा हिउँले पुरिएको शवलाई डोरीको सहायताले दुई सय मिटर माथि ल्याएर सुरक्षित राखेर उद्धार टोलीले फर्किएको छ । उहाँहरुका अनुसार सो स्थानबाट शव ल्याउन सकिने अवस्था छैन । हेलिकप्टरबाट ल्याउनको विकल्प छैन, त्यसका लागि पहल गरिरहेका छौँ ।”वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।

मर्दी आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई तामाङ लडेको हराएको  जानकारी दिएपछि उद्धारका लागि मंगलबार विहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा,वेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका थिए ।

टोलीले सुरुमा हेलिकप्टबाट घटनास्थलको निरीक्षणपछि उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थल तर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । मर्दीको भौगोलिक कठिनाई र प्रतिकुल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या समस्या भएको बताइन्छ ।

Comments
Loading...