हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो । प्रहरीले लामिछानेलाई आज कार्यालय समय खुलेलगत्तै म्याद थपका लागि अदालत लगेको थियो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछाने गत कार्तिक २ गते पक्राउ पर्नुभएको हो । लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएकामा पहिलोपटक पक्राउ परेको मितिले सात दिन र दोस्रो पटक कात्तिक ७ गते थप सात दिन म्याद थप गरिएको थियो ।
गत कात्तिक २० गते तेस्रोपटक कात्तिक १५ देखी लागू हुने गरी १० दिनको अनुसन्धान समय दिइएको थियो । सभापति लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।