हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप म्यादका लागि आज चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । कार्यालय समय सुरु भएलगत्तै प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएको हो ।
रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अघिल्लो १० दिने म्याद सकिएपछि अदालत उपस्थित गराइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को सहयोगमा सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबारको अनुसन्धान गरिरहेको छ ।