सायमीको‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक पोखरामा विमोचन

हिमाली आवाज । स्वरसम्राट नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, बष्ठि साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी, हारमोनी अध्यक्ष ईतु जोजिजु, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक तथा अध्येता प्रकाश सायमीले एकसाथ पुस्तकको विमोचन गर्नुभयो ।

पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक तथा अध्येता सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गर्नुभयो । पचासको दशकमा सुपरहिट चलचित्र दिएर दर्शकको मनमुटुमा बसिसकेका उहाँका कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणा गर्नुभएको हो । सायमीले पचासको दशकमा ‘सिमाना’लगायतका चर्चित चलचित्रहरु निर्माण गर्नुभएको थियो । पछि रेडियो कर्ममा लागेपछि उनले चलचित्र निर्माणबाट विश्राम लिनुभयो । तिनै सायमीले करीब तीन दशकपछि चलचित्र बनाउने घोषणा गर्दै भन्नुभयो‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु । सोहि चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दैछु ।’

पुस्तक विमोचन कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्र्तक्रियात्मक सम्वाद गर्दै लेखक तथा अध्येता सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गर्नुभयो । बायोपिक पुस्तकमा आंशिक सत्यतामात्रै हुन्छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नको जवाफ दिदै उहाँले भन्नुभयो,‘अरुको मलाई थाहा भएन तर मैले लेखेको ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकमा उहाँको ९९ प्रतिशत सत्य छ ।’ पुस्तकमा नारायणगोपालको जन्म काठमाडौंमा नभई सिराहामा भएको, उहाँको श्रीमती पेमलाले नारायणगोपालको मृत्यूपश्चात आफ्नै श्रीमानले गाएको गीतपनि नचिनेको, आफूमाथि आक्रमण गर्नेको नाम गोप्य राखेकोजस्ता विषयहरुपनि समावेश गरिएको छ ।

पुस्तकका लेखक सायमीले स्वरसम्राट नारायणगोपालको पोखरासँग गहिरो सम्बन्ध रहेको बताउनुभयो । पेमलासँगको विहेपछि सिधै पोखरा आएको, कवि भुपी शेरचनसँगको निकटतालगायतका कारणलेपनि नारायणगोपाल पोखरासँग निकट रहेको पुष्टि हुने उहाँको दावी छ ।

कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अनुसन्धानमा समर्पित सायमीको यो पुस्तक जीवन्त पुस्तकमध्येको एक हो ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘जगदीश घिमिरेको आत्मवृतान्तपछि सायमीको स्वरसम्राट नारायणगोपाल पठनीय पुस्तकका रुपमा आएको छ ।’

बरिष्ठ लोक गायीका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताउनुभयो ।कार्यक्रममा बरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, टीकाबहादुर कार्कीलगायतलेपनि स्वरसम्राट नारायणगोपाल र लेखक प्रकाश सायमीको व्यक्तित्व र पोखरासँगको सम्बन्धबारे भनाई राख्नुभयो ।

सिटीजन फर्निचर प्रालि न्यूरोड पोखराको सहयोगमा भएको कार्यक्रमको शुरु र अन्त्यमा पोखरेली गायक रामभक्त जोजिजुले स्वरसम्राट नारायणगोपालप्रति ट्रिब्यूट दिएर गरिएको कार्यक्रमको सञ्चालन एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सञ्चालक दीपेन्द्र श्रेष्ठले र एभरेस्ट मिडिया हाउसकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङ धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गर्नुभयो ।

Comments
Loading...