अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड:टिम इभेन्टमा नेपाली र इन्डिभिजअलमा चिनियाँ खेलाडी च्याम्पियन

हिमाली आवाज ।  नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा ‘टिम इभेन्ट’मा नेपाली धावक च्याम्पियन बनेका छन् ।
यसैगरी ‘च्यालेन्ज इन्डिभिजुअल इभेन्ट’को महिला तथा पुरुष दुवैतर्फ चिनियाँ धावक विजेता बन्न सफल भए । टिम इभेन्टमा नेपालका सुशीलकुमार शाही, सिर्जना पौडल र श्रीकाश राई सम्मिलित टोलीले रनिङ,साइक्लिङ र रोइङ सहितको निर्धारित ५० किमी दूरी चार घन्टा २० मिनेट १४ सेकेण्डमा पार गरी उपाधि जितेको हो ।

यसैगरी नेपाली सेनाका करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले चार घन्टा २२ मिनेट २९ सेकेण्डमा दौड पूरा गरी उपविजेता बने ।

यसैगरी सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल, निरज भट्ट र पुष्पा भण्डारीको टोलीले चार घन्टा २३ मिनेट आठ सेकेण्डमा दौड पूरा गरी तृतीय बनेको छ ।

प्रतियोगिताको टिम इभेन्टतर्फका बिजेताले रु चार लाख ५८ हजार चार सय,  उपविजेताले रु तीन लाख ४३ हजार आठ सय र  तृतीयले रु दुई लाख २९ हजार दुई सय पुरस्कार पाए ।

यसैगरी ‘च्यालेन्ज इन्डिभिजुअल’दौडमा पुरुषतर्फ चीनका धावक एङ ज्याङ जेनले निर्धारित ५० किमी दौड तीन घन्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरी विजेता बन्नुभयो ।

नेपाली धावक कुल बहादुर बस्नेतले  तीन घन्टा ४८ मिनेट दुई सेकेण्डमा दूरी पार गरी द्धितीय बन्नुभयो । नेपालकै होमलाल श्रेष्ठले तीन  घन्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी तृतीय बन्नुभयो ।

महिलातर्फ चीनका झेङ वाङ रोङले चार घण्टा १४ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी उपाधि जित्नुभयो । नेपाली धाविका जुम्लाका कल्पना बुढा उपविजेता बन्नुभयो । उहाँले निर्धारित दूरी चार घन्टा ५० मिनेटमा पार गर्नुभयो । नेपाल प्रहरीका राम माया बुढाले पाँच घण्टा आठ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तृतीय बन्नुभयो ।

‘च्यालेन्ज इण्डिभिजुअल’ दौडतर्फको पुरुष तथा महिला दुवै तर्फको बिजेताले रु एक  लाख ५२ हजार आठ सय, उपविजेताहरुले रु एक  लाख १४ हजार छ सय र तृतीय हुने दुवै तर्फकाले रु ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको ब्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चीनतर्फका चार टिम तथा च्यालेन्ज इन्डिभिजुअतर्फ नेपाली महिला तथा पुरुष ८७ चीन तर्फका २९ जनाले प्रतिस्पर्धा गरेको हिमालय टुरिजम फोरमका मिडिया संयोजक इन्जिरियन प्रतीकराज पहारीले जानकारी दिनुभयो ।

Comments
Loading...