पोखराबाट अन्तर्राष्ट्रिय उडान तत्काल सुरु गर्न होटल संघको माग

हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ ।

संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुने कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए ।

सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभयो । ज्ञापनपत्रमा होटललाई उद्योग सरह मान्यता दिई सोही अनुसारको व्यवहार गर्नुपर्ने, कृषि र उर्जा जस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपर्ने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न शहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने विषय उठाइएको छ ।

यसैगरी रात्रीकालिन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गरिनुपर्ने, यसका लागि अनुगमनलाई प्रभावकारी पारिनुपर्ने र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकास भन्दा पनि प्रबद्र्धनका काममा जोड दिनुपर्ने सुझाव पनि उल्लेख गरिएको छ । वातावरणीय अध्ययन (बीइएस, आईईई र ईआईए) को कारणले पर्यटन कार्यालय एवम् विभागबाट नविकरण हुन नसकेका साना तथा मझौला होटल उद्योगलाई सहज रुपमा नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमति नविकरण गरिनुपर्ने र २०७२ साल अघि निर्माण भएका साना तथा मझौला होटल उद्योगहरुले गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकनलाई खारेज गरिनुपर्ने माग पनि समेटिएका छन् ।

अध्यक्ष सुवेदीले पर्यटन क्षेत्रले फड्को मार्ने अपेक्षा सहित यस क्षेत्रमा ठूलो लगानी गरिएको भए पनि कोभिडका कारण व्यवसाय थला पर्दा सरकारले प्रभावकारिता प्रदर्शन गर्न नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा मन्त्री पाण्डेले सरकारले विभिन्न सहुलियत दिंदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण जहाज उडान सम्वन्धि प्राविधिक कारण हो वा अन्य त्यो मन्त्रालयले प्राविधिक टोलीसँग बुझ्ने बताउनुभयो । सोही अवसरमा उहाँले होटल संचालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी थालेको जानकारी पनि दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पोखराबाट अन्तर्राट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नती तथा कोरला नाकाको सहज र नियमित संचालनको विषय उठाउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टा सम्म बन्द गर्नुपर्ने अवस्था आउँदा र यस्तो अवस्थामा पोखराको नयाँ विमानस्थल सदुपयोग नगरिंदा सरकारले विकल्प नखोजेको र यतातर्फ ध्यान नदिएको संदेश गएको बताउनुभयो । होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र राजमार्गको स्तरोन्नती कार्य धेरै महत्वपूर्ण विषय भएको भन्दै यस विषयमा सरकार गंभीर बन्नुपर्ने भनाई राख्नुभयो । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र गरिवी निवारण हुन सक्ने, खेल पर्यटनमा जोड दिनुपर्ने र यस क्षेत्रमा एउटा पर्यटन एवं शान्ति संगीत महोत्सव गरिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिं ऐर, टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, ओटेफकी अध्यक्ष उमा भण्डारी, ना का अध्यक्ष अनिल केसी, पत्रकार यदुनाथ बञ्जरा, व्यवसायी प्रतीकराज पहारी, मुद्रा सटही व्यवसायी संगठन पोखराका अध्यक्ष रुपकराज मिश्र, होटल संघ पोखरा नेपालका प्रथम उपाध्यक्ष दिपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पनि भनाई राख्नुभएको थियो ।

Comments
Loading...