पोखरामा पनि छठ पर्वको रौनक, चार स्थानमा पूजा गरिदै

हिमाली आवाज । नेपालको तराई मधेशमा धूमधामका साथ मनाइने छठ पर्वको रौनक पहाडी जिल्ला कास्कीको पोखरामा समेत सुरु भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पोखरामा छठ हर्षोल्लासका साथ मनाउन लागिएको छ ।

रोजगारी तथा व्यापार व्यवसायका लागि स्थायी तथा अस्थाई रुपमा पोखरामा बसोवास गर्ने तराई मधेशका नागरिकहरुले छठ पर्वलाई भव्यताका साथ मनाउनका लागि पोखराका विभिन्न चार स्थानमा छठ पूजाको तयारी गरेका हुन् ।

पोखरा नदीपुरस्थित नारायणथान मन्दिर परिसर, फेवाताल किनारस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर, सेतीनदी र कालीखोलाको त्रिवेणी धाम र कमल पोखरीमा छठ पूजाको व्यवस्था गरिएको छ ।

पोखरामा नेपालको तराईका जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारीका लागि बसोबास गर्दै आइरहेकालाई यहीनै धुमधामका साथ छठ पर्व मनाउने वातावरण मिलाइएको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताउनुभयो ।

“केहीवर्षदेखी पोखरामा समेत छठ पर्वको छुट्टै रौनक देखिन थालेको छ । यस वर्षपनि धुमधामका साथ छठ पर्व मनाउनका लागि सबै तयारी गरिसकेका छौँ । छठपूजास्थलको सरसफाई, रंगरोगन, बत्ती जडान तथा टेण्ड हालेर भक्तजनहरुलाई सजिलो बनाएका छौँ ।” गुप्ताले भन्नुभयो । पोखरामा पाँच हजार जनाले छठ पूजा गर्ने अनुमान गरिएको छ ।

पर्व धुमधामका साथ मनाउनका लागि छठ पर्व स्थल(घाट)लाई विभिन्न ध्वजापताकाबाट सिँगारिएको छ । छठपूजा स्थलहरुमा केहीदिन अघिदेखीनै सरसफाई गरेर चिटिक्क पारिएको छ । श्रद्धालुभक्तजनहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर पूजाआजा गर्नेछन् । भारतीय पर्यटकहरुले समेत यहाँ छठको पूजा गर्ने बताइन्छ ।

छठ पर्व चार दिनसम्म मनाइन्छ । मंगलबारदेखी सुरु भएको पर्वमा विहीबार तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन र चौंथो दिन उदाउँदो सूर्यलाई अघ्र्य चढाएपछि यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्दछ ।

Comments
Loading...