हिमाली आवाज । गण्डकीका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आज (मंगलबार) यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।
उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।
उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्चको फैसलासँगै दीपक मनाङेलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएको बताइन्छ ।