रास्वपा सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।

सहकारी ठगी अभियोगमा गत कार्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक १५ गतेदेखी लागू हुने गरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई आज अदालतमा पेश गरिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएकामा पहिलोपटक पक्राउ परेको मितिले सात दिन र दोस्रो पटक कात्तिक ७ गते थप सात दिन म्याद थप गरिएको थियो ।

सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि रास्वपाका कार्यकर्ताहरुले विहानदेखीनै पोखराको रत्नचोक र वाइचोकमा जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीकाबीच धकेलाधकेल समेत भएको थियो । प्रदर्शनकारीले निषेधाज्ञा तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

Comments
Loading...