पोखराको हिमालय क्लबद्धारा सञ्चालित स्व नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार मानव सेवा आश्रमलाई

हिमाली आवाज । यस वर्षको स्व नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ ।

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरद्वारा सञ्चालित उक्त पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आश्रमलाई प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पुरस्कारका लागि पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुशील बस्नेत, पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सिना, सल्लाहकार खिमलाल अधिकारी र संस्थापक मध्यबाट यादवचन्द्र देवकोटा सदस्य रहेको छनौट समिति गठन गरिएको थियो ।

समितिले गरेको निर्णयलाई अनुमोदन गर्दै नगद रु १५ हजार र सम्मानपत्रसहित यही कात्तिक २२ गते आयोजना हुने २८औँ स्थापना दिवसको मुल समारोहमा आश्रमलाई पुरस्कार प्रदान गरिने सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिनुभयो ।

यो पुरस्कार यसअघि उद्योगपति गणेशबहादुर श्रेष्ठ, तेजबहादुर गुरुङ, लायन स्व गोविन्दबहादुर केसी, अग्रज भलिबल खेलाडी स्व उदयबहादुर बस्नेत, सिद्धार्थ क्लब र नव आर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिसकिएको छ ।

कार्यक्रमकै अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं। १६ भित्रका सरकारी विद्यालयबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशीष पोखरेललाई जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

क्लबले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही रु पाँच हजार प्रदान गरिने छ । समाजसेवी कृष्णप्रसाद अधिकारी र प्रभा कोइरालाद्वारा स्थापित नगद रु पाँच हजार राशिको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार चमेरी गुफा कृषक समूहलाई प्रदान गरिने जनाइएको छ ।

स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको र त्यसका अवसरमा अवसरमा २७औँ रक्तदान तथा चियापान, विभिन्न पुरस्कार, सहयोग वितरण तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष मोहनबहादुर थापाले बताउनुभयो ।

Comments
Loading...