एभरेस्ट एफएमको आकस्मिक कार्यक्रममा दुई सय ५१ यूनिट रगत संकलन

हिमाली आवाज । एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ ।

पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा २०३ जना पुरुष र ४८ जना महिला गरेर कुल २५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए ।

रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल, तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफन्ट गण्डकी, सिटिजन फर्निचर, पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप)लगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो ।

एभरेस्ट एफएमको प्राङ्गणमा विहान ७ः३० बजेदेखि ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रमको एफएमकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभयो ।

विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको आह्वानमा रक्तदान कार्यक्रम आयोजना गरिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...