गण्डकीको स्वास्थ्य प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य:गण्डकी स्वास्थ्यमन्त्री पाठक

हिमाली आवाज । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको बताउनुभएको छ ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजना अनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको स्पष्ट पार्नुभयो ।

प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न तीन कालीन योजना बनाएर काम थालेको उहाँले बताउनुभयो। ‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’ पाठकले भन्नुभयो ।

यसैबीच, गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
निजी स्वास्थ्य संस्थाका समस्यालाई हल गर्ने जिम्मेवारी आफूले लिने बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन लागि पर्ने पनि मन्त्री पाठकले प्रतिवद्धता जनाउनुभयो ।

अफिनले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान पनि गरेको छ । चार दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधान रहनुभएको छ ।

उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र संस्थाका अध्यक्ष डाक्टर गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरिरहेको बताउँदै बेला बेलामा अनुगमन हुनुपर्ने बताउनुभयो । उहाँले निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्न महानगर पनि तयार रहेको बताउनुभयो । अफिन गण्डकीका अध्यक्ष डाक्टर गिरधारी शर्माले गण्डकीमा निजी स्वास्थ्य संस्थामा करिब १ सय ५० अर्ब लगानी भएको बताउनुभयो । शर्माले विगत २ वर्षमा संस्थाले गरेका गतिविधि पनि प्रस्तुत गर्नुभयो ।

शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाको बारेमा भनाई राख्नुभयो ।

Comments
Loading...