राष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा

हिमाली आवाज । नेपाल क्रिकेट सङ्घको आयोजनामा कोसी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्य समेत हुनुहुन्छ । वाई वाई अण्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखी सुरु हुँदैछ ।

प्रादेशिक टोलीको छनोटका लागि सङ्घले गत असोज ७ गते देखि १३ गते सम्म पोखरा क्रिकेट रंगशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । तर सो प्रतियोगिता प्रतिकुल मौसमका कारण पूरा सञ्चालन हुन सकेको थिएन ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी जिल्लाहरुका प्रशिक्षकहरुको राय समेत लिई पहिलो चरणमा ३७ खेलाडीहरु लाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षणपछि अन्तिम टोलीका खेलाडी चयन गरिएको हो ।

गण्डकीको टोलीमा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहनुभएको छ ।

यसैगरी वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार हुनुहुन्छ । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेषक ढकाल रहनुभएको छ ।

गण्डकीको टोली सन्तुलित रहेकाले उपाधिको दावेदार रहेको अध्यक्ष सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो,“गण्डकीको टिममा नयाँ र अनुभवी दुबै खेलाडी रहेका छन् । टोली सन्तुलित छ । उपाधिको आस गरेका छौँ ।” गण्डकीले प्रतियोगिताको आफ्नो पहिलो खेल कात्तिक ११ गते मधेश प्रदेशसँग खेल्नेछ ।

Comments
Loading...