चाडपर्वले पोखरामा रगत अभाव,रक्तदान गर्न आह्वान

हिमाली आवाज । चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको र डेँगीका कारण माग वृद्धि हुँदा रगत हाहाकारको अवस्था आएको जनाएको छ । केन्द्रले सवैलाई रक्तदान गर्न समेत आह्वान गरेको छ ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालहरूमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा विहान ७ बजेदेखी साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना समेत गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र वटुवाहरुलाई रगत दिन आग्रह गरिएको हो ।

केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत सङ्कलन भएको सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो ।

“दसैँका समयमा विभिन्न सङ्घ संस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेँगीको सङ्क्रमण समेत बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा हाहाकारको अवस्था आएपछि सवैलाई आह्वान गरेका छौँ ।” ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीले आकस्मिक कार्यक्रमका लागि आह्वानपछि विभिन्न सङ्घ संस्थाले कार्यक्रम राखेको जानकारी दिनुभयो । “हामीले अभाव महसुुस गरेपछि आह्वान गछौँ र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको छौँ ।” ज्ञवालीले भन्नुभयो ।

डेङ्गी सङ्क्रमण बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ ।

लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्मा, लायन्स क्लबका गर्भनर विनोद ढुँगाना लगायतले रक्तदानको महत्वबारे भनाई राख्नुभयो ।

गण्डकी प्रदेशको राजधानी समेत रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।प्रदेशका अन्य जिल्ला अस्पतालहरुबाट समेत यहाँका अस्पतालमा बिरामी थप उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग बढी हुने गर्दछ ।

Comments
Loading...