पोखरामा नेसपाको विधान अधिवेशन सुरु,सरकारले भ्रष्टाचारमा संलग्नलाई संरक्षण गर्यो :भट्टराई

हिमाली आवाज । नेपाल समाजवादी पार्टी(नेसपा)को प्रथम विधान अधिवेशन आजदेखी पोखरामा सुरु भएको छ ।
दुईदिनसम्म सञ्चालन हुने अधिवेशनको सो पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई उद्घाटन गर्नुभयो । अधिवेशनमा देशभरबाट गरी पाँच सय जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

अधिवेशनले पार्टीको संगठनात्मक संरचना, नेतृत्व प्रणाली र सिद्धान्त लगायतका विषयहरुसमेत टुङ्गो लगाउने छ । अधिवेशनले पार्टीको महाधिवेशन,मिति र स्थानको घोषणा गर्ने बताइन्छ । अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री भटट्राईले भ्रष्टाचारको छानविनका लागि बलियो संस्था आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारले आफ्ना मान्छेलाई संरक्षण गर्ने र फरक पार्टीकालाई अभियोग लगाउने कार्य गरेकाले भ्रष्टाचारको निष्पक्ष छानविन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“फरक पार्टीकालाई भ्रष्टाचारको मुद्धा लगाउने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । यसरी देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न बलियो संस्था आवश्यक छ।”

संयोजक भट्टराईले राष्ट्रिय एकता बलियो बनाउनका लागि देशभित्र रोजगारी सिर्जना गरेर युवाहरुलाई देशभित्रनै राख्नुपर्नेमा जोड दिनुभयो ।
“देशका लागि लड्ने युवाहरु नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ, देशलाई एकतावद्ध राख्न देशभित्र रोजगारी सिर्जना गर्ने र युवाहरुलाई देशभित्रनै राख्नुपर्दछ । हिमाल, पहाड र तराईमा बस्नेहरुबीच एकता कायम गरेर मात्र राष्ट्रिय बलियो बन्दछ ।” भट्टराईले भन्नुभयो ।

नेसपाको वैचारिक राजनीतिक विश्लेषणा सही रहेको बताउँदै केही समय लागेपनि आफूहरुको विचार स्थापित भएरै छाड्ने उहाँले स्पष्ट पार्नुभयो । “पाँच स को सिद्धान्तका आधारमा नयाँ नेपाल बनाउने परिकल्पना हाम्रो रहेको छ । केही समय लाग्ला तर वैकिल्पक राजनीतिक शक्ति र विचार स्थापित हुनेछ ।” उहाँले भन्नुभयो ।

नेता भट्टराईले बाहिरी शक्तिहरुले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेको जिकिर गर्नुभयो । उहाँले संघीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाएर हिमाल, पहाड र तराईकाबीच बलियो एकता निर्माण गर्नु आवश्यक छ भन्नुभयो ।

अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत घोषणापत्र र विधानका बारेमा सहभागीहरुबीच समूह बनाएर समूहगत छलफल भइरहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्नेछ ।

विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति नामक अभियान सञ्चालन गर्नुभएको थियो ।
त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभएका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै हाल नेपाल समाजवादी पार्टी बनेको हो ।

Comments
Loading...