रास्वपा सभापति लामिछानेलाई ६ दिन म्याद थप

हिमाली आवाज । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.पोखराको सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धानका लागि छ दिनका लागि म्याद थप गरिएको छ ।
कास्की जिल्ला अदालतबाट न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि छ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो ।

शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकोमा आज अदालत समक्ष प्रस्तुत गरिएको थियो ।

इजलासमा सरकारी वकलिका तर्फबाट कमला काफ्लेले बहस गर्नुुभएको थियो भने लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशिल पन्त, डा.नारायण घिमिरे लगायतले बहस गर्नुुभएको थियो ।

लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा बाहिर भने उहाँका समर्थकहरूले नाराबाजी गरिहेका थिए । सम्भाव्य सुरक्षा अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र आसपासको क्षेत्रलाई तोकेर निषेधाज्ञा समेत जारी गरेको थियो । समर्थकहरूबाट निषेधाज्ञा तोड्ने प्रयास भैरहँदा प्रहरीले अश्रु ग्याँस र पानीको फोहोरा प्रयोग गरी भीडलाई त्यहाँबाट हटाएको थियो ।

सहकारी पीडितका साथै लामिछानेका समर्थक दुबै पक्षका छुट्टैछुट्टै प्रदर्शनका कार्यक्रम तय भएसँगै प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गरेको थियो । जिल्ला अदालत परिसर आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । लामिछाने समर्थकहरूको ¥याली पोखराको पृथ्वीचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नुुभएको थियो ।

Comments
Loading...