हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरालाई धूलोमुक्त राख्नका लागि महानगरपालिकाले स्वीपर मेसिन(ब्रुमर) सञ्चालनमा ल्याएको छ । महानगरले अबदेखी नगर क्षेत्रको सडक सो बु्रमरले सफा गर्ने भएको हो ।नगर प्रमुख धनराज आचार्यले ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिने बताउनुभयो ।
“महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँगै सडक छेउमा धुलो जम्मा हुने र वातावरण प्रदूषण हुने अवस्था रहेको छ । त्यसलाई न्यूनीकरण गर्न सडकको सफाइका लागि मेसिननै प्रयोग गर्न लागिएको हो । मेसिनले नियमित रूपमा सडक सफाइको काम गर्नेछ ।” प्रमुख आचार्यले भन्नुभयो ।
महानगरले रु ३३ लाख ९९ हजार लागतमा सो मेसिन गरेको हो । सो मेसिन ४९ हर्ष पावर क्षमताको छ । मेसिन दुई दशमलव नौ मिटर चौडाइको भएकाले साना गल्लीहरूमा समेत प्रवेश गर्न सक्ने र सडक सफाइको काम गर्न सक्ने बताइन्छ ।
महानगर प्रमुख आचार्यले भन्नुभयो,“यसले सडकको फोहोरलाई आफ्नो कन्टेनरमा जम्मा गरी हाइड्रोलिकको सहायताले अर्को भेइकलमा खन्याउनेछ । मेसिनबाट नगर क्षेत्रका मुख्य, सहायक र भित्री गल्लीहरू समेत सफा गर्नेछौँ ।”मेसिन स्वीपरको रूपमा मात्र प्रयोग नभई लोडरको रूपमा समेत प्रयोग गर्न सकिने बताइन्छ ।
यसले महानगरपालिकाको सफाइ अभियानलाई थप प्रभावकारी तथा दिगो बनाउन मद्दत गर्ने विश्वास गरिएको महानगरले जनाएको छ । हाल महानगरपालिकाले सडक सफाइका लागि सफाइकर्मीहरू समेत परिचालन गर्दै आएको छ ।