पोखरामा २० को पानीलाई एक सय असुल्दा दुई लाख जरिवाना

हिमाली आवाज । प्रशोधित पानी(मिनरल वाटर) मा अधिकतम खुद्रा मूल्य भन्दा बढी रकम लिएर ग्राहकमाथि ठगी गर्ने पोखराको –६ बैदाममा रहेको एक रेष्टुरेन्टलाई जिल्ला प्रशासन कार्यालय कास्कीले रु दुई लाख जरिवाना गरेको छ ।

लेकसाइडमा रहेको द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारले ग्राहकलाई ठगी गरेको उजुरीपछि प्रशासनले मङ्गलबार जरिवाना तोकेर कारवाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो रेष्टुरेन्टले एक बोतल मिनरल वाटरलाई रु एक सयमा बिक्री गरेको बिल सहित उजुरी प्रशासनमा परेको थियो ।
“कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम कारवाही गरिएको छ । अब आइन्दा कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा बिक्री नगर्न निर्देशनसमेत दिएका छौँ ।” लम्सालले भन्नुभयो ।

प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको जनाएको छ ।

चाडपर्वहरु सुरु भएसँगै प्रशासनले बजार अनुगमन र उपभोक्ता हित विरुद्धका कार्य गर्नेहरुलाई कानुनी दायरामा ल्याएको छ ।
यसअघि पोखराकै मारवाडी सेवा भोजनालयलाई तोकिएको परिमाणभन्दा न्यून खाद्यबस्तु बिक्री गरेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको थियो ।

Comments
Loading...