रेबिज सप्ताह : पोखरामा कुकुरलाई भ्याक्सिन,गण्डकीका पाँच हजार बढी विद्यार्थीलाई सचेतना

हिमाली आवाज । रेबिज सप्ताहका अवसरमा गण्डकी प्रदेशका सात जिल्लाका ५९ विद्यालयका पाँच हजार तीन सय ४३ जना विद्यार्थीलाई विद्यालय सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

गण्डकीको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की, पोखरा महानगरपालिका पशु सेवा शाखा, नेपाल भेटेरिनरी एसोसिएन गण्डकी र खाद्य तथा कृषि संगठनको आयोजनामा विद्यालय सचेतना कार्यक्रम, कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप कार्यक्रम सहित यही असोज ११ देखी १८ गतेसम्म रेबिज सप्ताह मनाइएको हो ।

विद्यालयका विद्यार्थीहलाई रेविजबाट हुने सङ्क्रमण, स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधि सम्बन्धमा सचेतना प्रदान गरिएको नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीका अध्यक्ष डा राजेश कुमार चौधरीले जानकारी दिनुभयो ।

सप्ताहमा विद्यालय सचेतना कार्यक्रम सहित रेबिज रोग विरुद्ध खोप र कुकुरको बन्ध्याकरण गरिएको हो । पोखरामा तीन हजार आठ सय ५७ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । यसैगरी यस अवधिमा ७३ सामुदायिक कुकुर र एक सय ८८ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको थियो ।कुृकुरलाई खोपका लागि १३ टोली परिचालन गरिएको थियो । जसमा १३ भेटेरिनरी डाक्टर र ५२ जना पशु स्वास्थ्य प्राविधिक सहभागी भएको एशोसिएसनले जनाएको छ ।

“रेबिज भाइरसबाट मानिस तथा अन्य स्तनधारी पशुहरू लाग्ने एउटा प्राणघातक रोग हो। यो रोग लागेका कुकुर तथा बिरालो जातिका घरपालुवा वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत अन्य स्तनधारी जनावरहरूमा सर्ने गर्दछ । त्यसैले रेविज विरुद्ध सचेतनाका लागि कार्यक्रम गरेका हौँ । ” डा चौधरीले भन्नुभयो ।

रेविज सप्ताहको समापन तथा विश्व पशुपन्क्षी दिवसका सन्दर्भमा आज आयोजित कार्यक्रममा पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका महानिर्देशक डा प्रेरणा सेढाई भट्टराईले रेविजका विरुद्धमा सबैमा सचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले पोखरा देशको पर्यटकीय राजधानी भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई रेबिज सङ्क्रमणको जोखिम हुँदैन भनेर सन्देश दिनु समेत आवश्यक भएको बताउनुभयो ।

“पर्यटकीय सहर पोखरामा रेविजको त्रासका कारण समेत पर्यटकहरु आउन डराइरहेको अवस्थामा हामीले निरन्तर खोप र बन्ध्याकरण कार्यक्रम सुरुआत गरेका थियौँ । यस कार्यक्रमलाई स्थानीय तहरुले समेत स्वामित्व लिनु आवश्यक छ ।” महानिर्देशक भट्टराईले भन्नुभयो ।

नेपालमा वर्षेनि एक सय वा सोभन्दा बढी मानिसको मृत्यु रेबिजका कारण हुने जनाइएको छ । त्यसैगरी करिब पाँच सय पशुधनको मृत्यु रेबिज रोगको कारणबाट हुने बताइन्छ ।

रेबिजबाट हुने मृत्यु मध्येमा ९५ प्रतिशत मृत्यु कुकुरको टोकाइबाट हुने गरेको नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष डा अशेष भट्टराईले बताउनुभयो ।

नेपाल सरकारले सन् २०३० सम्म रेविज केस शुन्यमा झार्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । “रेविजका विरुद्ध सवैले मिलेर काम गर्नुपर्दछ । एकतावद्ध प्रयासबाट रेविजलाई शुन्यमा झार्ने लक्ष्य पूरा गर्न सकिन्छ । ” भट्टराईले भन्नुभयो ।

कार्यक्रममा पशु सेवा तलिम केन्द्र कास्कीका प्रमुख डा ग्रिष्म न्यौपाने तथा पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका डा सपनालक्ष्मी घिमिरे लगायतले पशु कल्याणका बारेमा आम जनसमुदायमा सचेतना अभिवृद्धिका लागि विश्व पशुपन्क्षी दिवस मनाउने गरिएको बताउनुभएको थियो ।

Comments
Loading...