पोखरा–१२ वडा कार्यालयले दशैँ नजिकिएसँगै सुरु गर्यो बजार अनुगमन

हिमाली आवाज । नेपालीहरुको महान् पर्व वडादशैँ सुरु हुनै लाग्दा पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु भएको छ । वडा अध्यक्ष सन्तोष बास्तोलाको नेतृत्वमा वडाका विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिएको हो ।

बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु गरेको हो । यस अन्तर्गत विशेषगरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा वडा अध्यक्षको अनुगमन टोली पुग्नेछ ।

मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अखाद्य वस्तुको विक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरण र गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

“उपभोग्य वस्तको गुणस्तरहिनता र जुनसकै बाहनामा भइरहेको कालोबजारीलाई निरुत्साहित गर्न विशेष अनुगमन गर्न सुरु गरेका छौँ । वडाका प्रमुख व्यावसायिक संस्थाहरुमा अनुगमन गर्नेछौँ ।” वडाध्यक्ष बास्तोलाले भन्नुभयो ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने क्रम तीव्र भएको र यसैकारण उपभोक्ताहरु निकै मारमा परेको गुनासोपछि वडाले सक्रियता देखाएको छ ।

Comments
Loading...