दशौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि परिषद गण्डकीको ध्यानाकर्षण

हिमाली आवाज । प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि संघिय सरकारको यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)मा ध्यानाकषर्ण गराएको छ । परिषदको सोमबार बसेको कार्यकारी समितिसहितको बैठकले ध्यानाकषर्ण गराउने निर्णय गरेको हो ।

सो बारे जानकारी गराउँदै परिषदका सदस्य सचिब श्रीधर शर्माले कर्णाली प्रदेशमा मंसिर २ गते सुरु हुने भनिएको दशौं राष्ट्रिय खेलकुदमा देखिएको अन्यौलताले समग्र खेलकुद क्षेत्र प्रभावित भएकोले ध्यानाकषर्ण गराउने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिले समग्र खेलकुद क्षेत्रमा अन्यौलता छ । दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु पर्ने बेला अब के गर्ने प्रश्न सबैतर्फ छाएको छ । यसले खेल संघ र तयारी गरिरहेका खेलाडीहरुलाई समेत निराशा छाएको छ ।”

बैठकले दशौं राष्ट्रिय खेलकुदको मिति निर्क्यौल नभए सम्मका लागि प्रदेशका खेल संघ र खेलाडीहरुलाई आ–आफ्नो ठाउँमा रहेर आन्तरिक तयारी गर्न समेत आग्रह गरेको छ ।

त्यसै गरी बैठकले दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरा रंगशालास्थित साविकको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको कार्यालयमा प्रदेश प्रशिक्षण शाखा गठन गरी तयारी सुरु गर्ने परिषदले जनाएको छ ।

बैठकले राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनका लागि समेत यूवा तथा खेलकुद मन्त्रालय र राखेपलाई ध्यानाकषर्र्णा गराउने भएको छ । सदस्य सचिब शर्माले सो बारे जानकारी दिंदै खेलाडी उत्पादनको मुख्य कार्यक्रममा ‘राष्ट्रपति रनिङ्ग शिल्ड’ संघिय सरकारले बजेट विनियोजन नगर्दा समग्र कार्यक्रम नै प्रभावित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“राष्ट्रपति रनिङ्ग शिल्डका लागि पालिका, जिल्ला र प्रदेशका लागि बजेट विनियोजन हुने गरेको थियो, तर यो वर्षबाट रकम विनियोजन भएको छैन । जसका कारण चौतर्फी अन्यौलता बनेको छ । हामी यूवा उमेर समुहको यो प्रतियोगिताका लागि यथासिघ्र बजेट विनियोजन गर्न ध्यानाकषर्ण गर्ने निर्णय गरेका छौं ।”

Comments
Loading...